भ्रष्टाचार: के यसबाट निस्कने बाटो छ ? 

लेखकः सविन बस्नेत

विश्वका अन्य विकासशील राष्ट्रहरू जस्तै नेपालमा पनि भ्रष्टाचार ज्वलन्त मुद्दा बनेको छ ।ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित गरेको करप्सन परसेप्सन इन्डेक्स २०२२ अनुसार प्रतिवेदनमा समावेश भएका १८० देशमध्ये नेपाल मात्र ३४ अंकसहित ११० औं स्थानमा छ।

उच्च तहका सरकारी कर्मचारीदेखि तल्लो तहका निजामती कर्मचारीसम्म र निजी क्षेत्रसम्म पनि भ्रष्टाचार क्यान्सरजस्तै समाजमा फैलिएको छ । सामाजिक सद्भावको ढाँचामा बिस्तारै कुँद्दै जाने तथ्यले गर्दा भ्रष्टाचारलाई क्यान्सरजन्य बृद्धि भन्न सकिन्छ ।प्रवृत्ति यस्तो छ कि शाब्दिक रूपमा कुनै पनि सार्वजनिक कार्यालयहरू मार्फत हुने काम गर्न, या त लामो लाइनमा प्रतिक्षा गर्नुपर्छ, या मान्छे चिनेको हुनुपर्छ । 

कर्पोरेट र निजी क्षेत्र पनि पछिल्ला दिनहरूमा सार्वजनिक परिदृश्यबाट प्रभावित भएको छ।र जब हामी यो अस्वस्थताको सम्पूर्ण घटनालाई हेर्छौं त्यहाँ विभिन्न प्रश्नहरू उब्जिन्छन – नेपालमा भ्रष्टाचारको प्रमुख कारणहरू के हुन् र तिनीहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ ? निजामती सेवामा हामीले जवाफदेहिता र पारदर्शिता बढाउन सक्ने कुनै उपाय छ ? के म व्यक्तिगत रूपमा मद्दत गर्न सक्छु ? 

भ्रष्टाचारले नागरिकको दैनिक जीवनमा कस्तो नकारात्मक प्रभाव पारेको छ र यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने कुरामा परिवारका सदस्य र साथीभाइबीच सधैँ छलफल हुने भएकाले सर्वसाधारणलाई भ्रष्टाचारबारे थाहा छैन भन्ने होइन ।तर, नेपाल जस्तो विकासोन्मुख मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सजिलो छैन । र यो रोगको कुनै एक मात्र उपचार छैन। यसको लागि व्यापक र बहुआयामिक दृष्टिकोण चाहिन्छ।

भ्रष्टाचार नियन्त्रणको पहिलो कदम जनताको मानसिकता परिवर्तन गर्नु हो । अक्सर मानिसहरूले भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरूको आलोचना र निन्दा गर्छन् र उनीहरूलाई कसरी कडा कारबाही गर्नुपर्छ भन्ने कुरा गर्छन्।तर, भ्रष्टाचारको आरोपमा पक्राउ परेका व्यक्ति परिवार वा साथीभाइ भएको माम्ला मा प्रायः सोही व्यक्तिले त्यो घटनाप्रति आँखा चिम्लने प्रवृत्ति छ । उनीहरूले कुनै पनि कुराकानीको क्रममा मुद्दा सतहमा आए भने अभियुक्तको पक्षमा कडा तर्कहरू पनि राख्छन्।

त्यसैले, ईमानदारीताको आवश्यकताबारे सचेतना अभियानहरू सञ्चालन गर्नु एउटा समाधान हुन सक्छ । शैक्षिक कार्यक्रमहरूमा ‘इमान्दारिता’ विषय पनि समावेश गर्न सकिन्छ। इमान्दारिताप्रति सचेत समाजले नै भ्रष्टाचारबाट मुक्ति गराउन सक्छ । देशको कानुनी प्रणालीलाई बलियो बनाउनु पर्ने अर्को पक्षमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ । भ्रष्टाचार नियन्त्रणका लागि थप कडा कानुनको खाँचो छ ।

सजाय यस्तो हुनुपर्छ कि यसले अरूलाई भ्रष्टाचारमा संलग्न हुनबाट निरुत्साहित गरोस. तर कमजोर कानुन वा कानुनको कमजोर कार्यान्वयनका कारण भ्रष्टाचारको आरोप लागेका अधिकांश व्यक्तिहरू थोरै समयमै स्वतन्त्र भएर हिँड्छन्। यसले अरूलाई पनि पछ्याउन प्रोत्साहित गर्छ र भ्रष्टाचारको दुष्चक्र निरन्तर चलिरहन्छ। भ्रष्टाचार विरुद्ध कडा नियमावलीको मस्यौदा आवश्यक छ जसमा सजायको तुलनामा गैरकानुनी कमाइ कम मूल्यवान छ।

नेपालसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) नामक भ्रष्टाचारविरोधी निकाय छ, जसलाई भ्रष्टाचारमा दोषी पाइएका व्यक्तिलाई कारबाही गर्ने र सजाय दिने अधिकार छ। तर, अख्तियार नै बेलाबेलामा विवादमा फस्दा अख्तियार कति प्रभावकारी छ भन्ने प्रश्न सधैं उठ्ने गरेको छ । अख्तियारले प्रायः राजनीतिक आबद्धता वा सम्बन्ध नभएका मानिसहरूलाई पक्रने र ठूला माछाहरूलाई स्वतन्त्र रूपमा जान दिने गरेको आरोपहरु पनि छन्। त्यसैले, सर्वसाधारणले यस संस्थाको आवश्यकतामाथि प्रश्न गर्न थालेका छन् ।

अख्तियारलाई थप स्वायत्तता प्रदान गर्नु र अख्तियारभित्रका व्यक्तिहरूलाई राजनीतिक सम्बन्धका आधारमा नियुक्त गर्ने प्रथा बन्द गर्नु एउटा राम्रो कदम हुन सक्छ ।भ्रष्टाचार विरोधी निकाय आफैं पटक-पटक विवादमा फस्दा जनतालाई विश्वास गर्न गाह्रो हुन्छ । उत्तरदायित्व अर्को क्षेत्र हो जसमा सबै सम्बन्धित सरोकारवाला र आम जनताले ध्यान दिनुपर्छ। जब त्यहाँ कसैको कार्यको लागि कुनै जवाफदेहिता हुँदैन, यसले मानिसहरूलाई नियमहरू तोड्न प्रोत्साहित गर्दछ। जस्तै, सार्वजनिक खर्चको लागि कडा अनुगमन संयन्त्र हुनुपर्छ, जुन प्रविधिको प्रयोग मार्फत गर्न सकिन्छ। नेपालमा ई-गभर्नेन्सका उपायहरू अवलम्बन गर्न आवश्यक छ। मानवीय सम्पर्क जति कम हुन्छ, भ्रष्टाचार त्यति कम हुन्छ भन्ने तथ्यका कारण ई-गभर्नेन्समा जोड दिइएको हो । उदाहरणका लागि, मेसिनले सेवाग्राहिलाई घुस माग्दैन । यदि प्रक्रियाहरू सही छन् भने, मेसिनले आवश्यक काम गर्दछ र गलत छन् भने, अगाडि बढ्न सक्दैन। नेपालमा भ्रष्टाचारको अर्को प्रमुख कारण विगत दुई वर्षयताको निराशाजनक आर्थिक वृद्धि हो।

आर्थिक विकासमा सरोकारवालाहरुले ध्यान दिनुपर्ने बेला आएको छ । हामीले बेरोजगारी दर र गरिबीलाई कसरी कम गर्न सकिन्छ भन्ने उपायहरू खोज्न आवश्यक छ। जब मानिसहरू आर्थिक रूपमा सशक्त हुन्छन्, यसले तिनीहरूलाई टेबलमुनिको प्रस्ताव स्वीकार गर्न कुनै प्रोत्साहन दिँदैन। हामीले देशभित्र उपलब्ध स्रोतसाधनलाई आम जनतामा समान रूपमा बाँडफाँड गर्ने कुरा सुनिश्चित गर्नुपर्छ । र अन्त्यमा, नेपाललाई कुनै डर वा पक्षपात बिना देशमा भ्रष्टाचारका मुद्दाहरूलाई उजागर गर्न, इच्छुक, जीवन्त र सक्रिय मिडिया क्षेत्र चाहिन्छ।

अक्सर, देशका प्रकाशनघरहरू एक वा अर्को राजनीतिक दलसँग पङ्क्तिबद्ध भएका हुन्छन्। त्यसैले कतिपय सञ्चारमाध्यमले केही भ्रष्टाचारका घटनालाई प्रकाश पार्छन भने अन्य समाचारलाई दबाउन सक्छन् । मिडिया क्षेत्र सूचनाको सबैभन्दा भरपर्दो स्रोत भएकाले निष्पक्ष मिडिया क्षेत्र नभएसम्म भ्रष्टाचारबाट मुक्ति पाउन गाह्रो हुन्छ । 

भ्रष्टाचारले व्यक्ति मात्र नभई समग्र समाजमा नकारात्मक असर पार्छ भन्ने कुरामा सबैले सचेत हुन जरुरी छ । भ्रष्टाचार बढेपछि जनताले सरकारलाई विश्वास गर्न छोड्छन् । जब राजनीतिक नेताहरूलाई जनताले भ्रष्टाचारीका रूपमा हेर्छन्, तब जनताले सरकारप्रतिको विश्वास गुमाउन थाल्छ र यसले भ्रम निम्त्याउन सक्छ।

यसले देशमा गृहयुद्ध निम्त्याउन सक्छ। भ्रष्टाचारबाट छुटकारा पाउनु पर्ने अर्को कारण भनेको भ्रष्टाचार व्याप्त हुँदा आधारभूत सरकारी सेवामा पहुँचमा ह्रास आउनु हो ।नेपालमा कुनै व्यक्तिको माथि सम्म सेटिङ छ वा घूस दिन सक्छ भने सबै सेवा लिन सकिन्छ तर कुनै व्यक्तिसँग त्यो सुविधा/ छ्यमता नभएको खण्डमा कुनै काम हुदैन भन्ने कुरा आस्चारयजनक होईन। 

भ्रष्टाचारले पनि अन्याय निम्त्याउन सक्छ । सरकारी वा निजी कारोबारमा कृपावाद वा नातावाद हुन सक्छ र दबदबा भएकाहरूलाई अरूभन्दा प्राथमिकता दिइन्छ। हाम्रो प्रणालीभित्र पसेको भ्रष्टाचारबाट मुक्त हुन धेरै समय लाग्छ तर त्यो हासिल गर्न सकियो भने नेपाल अझ समृद्ध हुनेछ। मानिसहरू वास्तवमा एकअर्कालाई विश्वास गर्नेछन्।

अनुवादिका: स्मिथु घिसिङ

मूल लेख: Corruption: Is There a Way Out?